सोमबार, १५ असोज २०८०, दोलखा। शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताइन्।
मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्टयाकी छिन्।
सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुग्नुभएकी उनले सञ्चारकर्मीमाझ असोज महिना भित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोही अनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
मन्त्री गुरुङले आफूहरुले हिउँदे अधिवेशन सोही भवनबाटै सुरु गर्नेगरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटकपटक ताकेता गरेको पनि बताइन्। म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिना भित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनको भनाई थियो। मन्त्री गुरुङले सो भवनको निर्माण कार्य छिट्टै सम्पन्न हुने गरी जनशक्ति बढाउन गरिएको आग्रहलाई पनि निर्माण कम्पनीले पालना नगरेको गुनासो गरिन्।