राप्रपा राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने


कृष्ण बुढाथोकी

पृथ्वी जयन्तीलाई उत्सवको रुपमा मनाउने निर्णय

बिहीबार, २१ मङ्सिर २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट आगामी माघ ११ गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो।

यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन।

बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय पनि गरेको छ। यस्तै इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको पनि श्रेष्ठले जानकारी दिए।

यसैगरी राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ।

बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ। सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाण्डौंमा बस्ने श्रेष्ठको भनाइ छ।

सम्बन्धित खबर