शुक्रबार, ११ असोज २०८१, दोलखा। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले प्रदेश सरकारले आगामी वर्षदेखि २० लाख भन्दा कम बजेटका योजनाहरूमा बजेट विनियोजन नगर्ने घोषणा गर्नुभएको छ। दोलखामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री काफ्लेले स-साना टुक्रे योजनाहरू अन्त्य गर्न आवश्यक रहेको भन्दै, खानेपानी जस्ता अत्यावश्यक योजनाहरू बाहेक २० लाखभन्दा कम बजेटका योजनाहरूलाई रोक्ने बताउनुभयो।

उहाँले आगामी वर्षको बजेट तयार गर्नु अघि स्थानीय सरकारसँग छलफल गरी योजनाहरू तय गरिने र योजनाहरूको प्रभावकारीता सुनिश्चित गर्न आफु विभिन्न जिल्लामा अन्तरक्रिया कार्यक्रम गरिरहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा सांसद भरत केसी र उर्मिला सुनुवारले बजेट विनियोजन र योजना छनोटमा दोलखाको उपेक्षा भएको गुनासो गरे। स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले पनि प्रदेश सरकारका योजनाहरू स्थानीय सरकारसँग समन्वयबिना संचालन हुँदा कामको गुणस्तर कमजोर भएको तथा अनुगमन नहुँदा समस्या परेको बताए।

बागमती प्रदेश सरकारले १३ जिल्लामा यस्ता अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ।