स्वतन्त्रताको नाममा व्यवसाय : नेपाली मिडियाको वास्तविकता


onlinebulletin

कोहलपुरको मौसम शितल र रमणीय छ, हल्का वर्षाले बजारलाई अझ शान्त बनाएको छ । यस्तै वातावरणमा कोहलपुरका चोकचौतारीमा केहीबेर गफिँदा सञ्चार मिडियाको बारेमा आमनागरिकका अनौपचारिक बहसमा सहभागी हुने अवसर मिल्यो सारमा समाजले मिडियालाई भिन्न भिन्न कोणबाट सम्बोधन गरेको भेटियो कतिपय विषयले दुखी पनि बनायो । संयोगवश, यही सहरमा अहिले बिट पत्रकारिता सम्बन्धी तालीम पनि सञ्चालनमा रहेछ । यही परिवेशले सञ्चारमाध्यमको यथार्थतर्फ गहिरिएर सोच्न प्रेरित गर्‍यो ।

आजको नेपाली सञ्चार माध्यम माथि उठिरहेका गुनासाहरू संयोग मात्र होइनन: यी विगत दुई दशकभन्दा बढी समय देखि समाजमा स्थापित अभ्यासका प्रतिफल पनि होलान । स्वतन्त्र भनिएको सञ्चार आज प्रयोगवादी भएर, विज्ञापनको खेतीमा रमाएको त छैन, शुभकामना सन्देशको व्यापारी बनेको त होइन ? सञ्चार क्षेत्र पनि एउटा यस्तो “भजन मण्डली” बनेको आभास हुने अवस्था जहाँ शक्ति सत्ताको गुणगान गुञ्जिन्छ भन्ने समाजमा प्रभाव किन ?

स्वतन्त्रता कागजमा, व्यवहारमा बन्धन:
आफैं स्वतन्त्र भएर बोल्न नपाउने नसक्ने सञ्चारमाध्यम स्वतन्त्र कसरी बन्न सक्छ ? राजनीतिक प्रभाव, आर्थिक दवाब र आन्तरिक गुटगत स्वार्थबीच सञ्चार कतै आफैं अपाङ्ग बनेको छैन । अर्थ-पूँजीको प्रभावले सञ्चारलाई स्वतन्त्र होइन, यथार्थमा सीमित बनाएको प्रभाव देखियो । सामाजिक ब्यबहारिक सीमितता भित्र उभिएको “स्वतन्त्र मिडिया” कतै भ्रम मात्रै बनेर बाचेको त छैन ?

सञ्चार कि विज्ञापन एजेन्सी ?

आजको मिडिया सूचनाको प्रदायक भन्दा पनि विज्ञापनको व्यापारी बन्न खोजिरहेको प्रभाव समुदायमा देखिएको छ । ठूला ब्यानरहरूमा शुभकामना सन्देश छाप्ने होड, समाचारको सट्टा “प्रायोजित” सामग्रीहरू प्रकाशन गर्ने प्रवृत्ति- यी सबैले मिडियाको गरिमा बिश्वसनियता र व्यावसायिकता माथि नै प्रश्न उठेको देखिन्छ । सूचना र स्रोतहरु अब वस्तु बनिसकेका त होइनन ? समाचारले मूल्य चुकाउने शक्तिले नै पहुँचको आडमा सत्यको कथा विकृत बनेको त छैन ।

दलको मुखपत्र बनेको सञ्चार

अहिले सञ्चार जनताको होइन, दलको आवाज बनेको आम नागरिकको बुझाइ देखिन्छ । “भ्रष्टाचारको भण्डाफोर गर्ने माध्यम” अब भ्रष्टाचार ढाक्ने उपकरण बनिरहेको पनि देखिन्छ । निष्पक्षताको नाममा पक्षपात, खोज पत्रकारिताको नाममा चरित्र हत्या र विश्लेषणको नाममा मुल्य-मान्यता दुरुपयोग भइरहेको भनेर टिका-टिप्प्णी सार्वजनिक भएको देखिन्छ ।

समाजले बिगार्‍यो कि मिडियाले ?

दुवैको दोष छ । समाजले गुणस्तरीय पत्रकारिता खोज्न छोड्यो, चटपटे र सनसनीखोज खबरमा रमायो । मिडियाले पनि कतै जनताको चेतना निर्माण गर्ने हैसियत गुमाएर, आफुलाई केवल ध्यान आकर्षण गर्ने स्तरहिन/भल्गर शीर्षकमा सीमित बनायो । सारमा समाजले बाटो बिगारेको छ भने मिडियाले समाजलाई नै गुमाएको छ ?

स्रोतको नाममा धन्दा र कारोबार

मूल स्रोतहरू निष्पक्ष सूचना मात्रै रहेनन, पहुँच, पैसाको प्रभाव र आत्मीय सम्बन्ध बनिसकेका देखिन्छन । खबरको विषयवस्तु अब जनताका सरोकार होइन, कसले कति तिर्छ भन्ने हिसाबमा तय हुन थालेका छन । पत्रकारिताको मर्यादा भित्र पनि नाफा घाटाको बजार बनिसकेको देखिन्छ ।

सुधारको अनिवार्य आवश्यकता

मिडियाले आफ्नो मूल उद्देश्य सम्झनु पर्छ— सूचनाको स्वतन्त्रता, सत्यको खोजी, जनताको सशक्तिकरण ।

मर्यादित व्यावसायिकता

मिडिया व्यवसाय हो भन्ने मान्यता स्वाभाविक हो, तर त्यो व्यवसाय मर्यादामा रहनुपर्छ । बिकाउ होइन, टिकाउ बन्ने मार्ग अँगाल्नुपर्छ ।

विश्वासको पुनर्निर्माण

समाजले मिडियालाई फेरि विश्वास गर्न सकोस भन्ने वातावरण बनाउनु मिडियाको जिम्मेवारी हो । त्यसका लागि सम्प्रेषणमा पक्षपात होइन, यथार्थ चाहिन्छ ।

सञ्चार संरक्षणमा राज्यको भूमिका

मिडिया राज्यको चौथो अंग हो भन्ने मान्यता व्यवहारमा पनि उतार्नुपर्छ । सन्देशमूलक होइन, संरचनात्मक रूपमा मिडियालाई दीर्घकालीन रूपमा जोगाउन राज्यको स्पष्ट नीति, कानुनी संरक्षण र आर्थिक स्थायित्व आवश्यक छ । स्वतन्त्रताको नाममा बेवास्ता होइन, उत्तरदायित्वसहितको संरक्षण राज्यको दायित्व बन्नुपर्छ ।

सञ्चार मिडिया क्षेत्र केवल आरोप–प्रत्यारोपको खेल खेल्ने माध्यम होइन । यो समाज परिवर्तनको सशक्त माध्यम उपकरण हो । त्यसैले अब मिडियाले आफ्नो ऐतिहासिक गरिमा जोगाउन पर्छ, स्वतन्त्रताको अर्थ बुझ्नु बुझाउनु पर्छ र सत्यको साहसिक सच्चा प्रतिनिधि बन्नु पर्दछ । आज प्रश्न उठाउनेहरू धेरै छन, तर उत्तर दिनेहरू कम छन । अब मिडिया आफैं उत्तर बन्न तयार हुनुपर्छ, जिम्मेवार, मर्यादित र दीर्घकालीन रूपमा स्थिर भएर समाजमा उभिनु पर्छ ।

सम्बन्धित खबर