काठमाडौँ — नेपालको पर्यटन क्षेत्रमा एक महत्त्वपूर्ण कदम चालिएको छ। अब विदेशी पर्यटकले नेपालमै कम मूल्यमा भरपर्दो पर्यटन बिमा सेवा लिन पाउने भएका छन्। हिमालयन गार्डियन नेपालले सुरु गरेको यो योजनालाई नेपालको पर्यटन सुरक्षाका लागि नयाँ अध्याय मानिएको छ। नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीको पहलमा स्थापना भएको हिमालयन गार्डियनले यो सुविधा उपलब्ध गराएको हो।
अहिले सम्म, नेपाल आउने पर्यटकहरूले आफ्नो देशमा नै महँगो बिमा खरिद गर्नुपर्ने बाध्यता थियो। यसले उनीहरूको यात्रा खर्च बढाउँथ्यो र आपत्कालीन अवस्थामा उद्धार प्रक्रिया झन्झटिलो हुन्थ्यो। तर, हिमालयन गार्डियनको यो योजनाले सांस्कृतिक भ्रमण, पदयात्रा र हिमाल आरोहण गर्ने पर्यटकहरूलाई लक्षित गरी नेपालमै सस्तो र प्रविधियुक्त बिमा सेवा उपलब्ध गराएको छ।
कम्पनीले पर्यटकहरूको आवश्यकताअनुसार तीन फरक-फरक बिमा योजना ल्याएको छ:
यी बिमा योजनाहरू नेपालमा दर्ता भएका ट्रेकिङ तथा पर्यटन एजेन्सीहरू मार्फत मात्रै खरिद गर्न सकिन्छ। सरकारले पदयात्रा र आरोहणका लागि दर्तावाला गाइड र एजेन्सी अनिवार्य गरेकाले पर्यटकलाई बिमा लिन सजिलो हुनेछ। एजेन्सीहरूले अग्रिम भुक्तानी गर्ने भएकाले बिमा शुल्कमा १०–१५ प्रतिशत सेवा शुल्क पनि थप हुन सक्छ।
यो बिमाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा प्रयोग गरिएको प्रविधि हो। प्रत्येक बिमा योजनासँगै स्याटेलाइट जडित एक विशेष उपकरण दिइन्छ, जसमा एसओएस बटन हुन्छ। आपतकालीन अवस्थामा पर्यटकले त्यो बटन थिच्नेबित्तिकै बिमा कम्पनीको प्लेटफर्मबाट नेपालका बिमा कम्पनी, उद्धार सेवा प्रदायक र चिकित्सकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित हुन्छ।
डा. रेग्मीले भने, “हाम्रो लक्ष्य केवल बिमा बेच्नु होइन, संकटमा परेका पर्यटकको जीवन रक्षाका लागि तत्काल प्रतिक्रिया दिनु हो। यो प्रणालीले हेलिकोप्टर, शेर्पा वा चिकित्सकलाई पीडितको ठ्याक्कै स्थानमा तुरुन्त पुर्याउन मद्दत गर्छ।”
यसले पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएका नक्कली उद्धार र अस्पतालमा हुने अत्यधिक बिलिङको समस्यालाई पनि समाधान गर्ने विश्वास लिइएको छ। यसबाट नेपाललाई विश्वसामु अझ सुरक्षित र भरपर्दो गन्तव्यका रूपमा प्रस्तुत गर्न मद्दत पुग्नेछ।
© २०८२, अनलाईन बुलेटिन