काठमाडौं, जेठ २०

विश्वकै प्रमुख हवाई सेवा प्रदायक कम्पनी ‘फ्लाइ दुबई’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न चासो देखाएको छ।

कम्पनीका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाज र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच मङ्गलबार भएको भेटवार्तामा यस्तो सम्भावनाबारे छलफल भएको हो।

भेटका क्रममा दुई पक्षबीच पोखरा-दुबई सिधा उडान, पर्यटन प्रवर्द्धन र हवाई सुरक्षा मापदण्डका विषयमा कुराकानी भएको थियो। उड्डयन क्षेत्रमा लामो अनुभव भएका उपाध्यक्ष लुकाजले पोखराको सुन्दरताबाट आफू प्रभावित भएको बताउँदै यहाँ उडान जोडिए समग्र क्षेत्रको पर्यटनका लागि सुखद हुने उल्लेख गरे।

मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भएकाले अन्तर्राष्ट्रिय बजारसँग जोडिन सिधा उडान आवश्यक रहेको बताए। विभिन्न समयमा भएका चार्टर उडानले विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि सक्षम छ भन्ने प्रमाणित गरिसकेको भन्दै उनले नियमित उडानका लागि विशेष पहल गरिदिन फ्लाइ दुबईसँग अनुरोध गरे।

चीनको सहयोगमा करिब २२ अर्ब रुपैयाँको लगानीमा निर्माण भई २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। यो विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ।