
काठमाडौं, जेठ २२
नेपालको ग्रामीण पर्यटनलाई आधुनिक सुविधासँग जोड्ने उद्देश्यका साथ मकवानपुरको थाहा नगरपालिका–६, टिस्टुङमा सुविधा सम्पन्न टिस्टुङ रिसोर्ट सञ्चालनमा आएको छ।
प्राकृतिक सौन्दर्य, कृषि पर्यटन, धार्मिक सम्पदा र स्थानीय संस्कृतिलाई एकीकृत गर्दै टिस्टुङलाई नयाँ पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्यसहित रिसोर्टले सेवा विस्तार गरेको रिसोर्टले जानकारी दिएको छ। राजधानी काठमाडौँबाट चन्द्रागिरि मार्ग हुँदै मात्र ३८ किलोमिटरको सहज दूरीमा रहेको यो रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
नौबिसे–हेटौँडा सडकमार्फत पनि सहज पहुँच रहेको टिस्टुङ क्षेत्र पछिल्लो समय कोलाहलमुक्त परिवेश, स्वच्छ वातावरण र प्राकृतिक शान्तिका लागि पर्यटकको रोजाइमा पर्दै आएको छ।
ग्रामीण तथा पर्या–पर्यटनमा जोड
चारैतिर हरियाली पहाड र फराकिला कृषि फाँटले घेरिएको रिसोर्टले इकोटुरिजमको मूल मर्मलाई आत्मसात् गरेको छ। पहाडको काखमा अवस्थित रिसोर्टबाट सूर्योदयको मनमोहक दृश्य अवलोकन, बिहानी शीतलता र प्राकृतिक पदमार्गको आनन्द लिन सकिन्छ।
रिसोर्टमा पर्यटकका लागि स्वीमिङ पुल, बालबालिकाका लागि खेलमैदान तथा मनोरञ्जनका अन्य आधुनिक सुविधाहरू उपलब्ध छन्। यहाँ आवासका लागि डिलक्स कोठाहरूका साथै समूहमा आउने पर्यटकका लागि आधुनिक शैलीका कोठाहरू समेत निर्माण गरिएको छ। यस्तै, संस्थागत पर्यटकहरूलाई लक्षित गरी एक सय जना क्षमताको आधुनिक सेमिनार तथा सम्मेलन हल समेत सञ्चालनमा ल्याइएको रिसोर्टले जानकारी दिएको छ।
‘फार्म टु टेबल’ स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता
पर्यटनलाई स्थानीय समुदायसँग जोड्ने अवधारणाअनुसार रिसोर्टले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको रिर्सोटका अध्यक्ष हरि गोपाल मर्हजनले जानकारी दिए। ‘रिसोर्टको भोजन सेवामा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल तथा कृषि उपजहरू प्रयोग गछौं। यसबाट स्थानीय ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास छ’ उनले भने।
साथै, आगन्तुकहरूले यहाँ प्रत्यक्ष रूपमा कृषि तथा पशुपालन गतिविधिको अवलोकन र अनुभव समेत गर्न पाउने मर्हजनले जानकारी दिए।्
धार्मिक तथा सांस्कृतिक पर्यटन प्याकेज
पर्यटकको बसाइ अवधि लम्ब्याउन र थाहा नगर क्षेत्रको मौलिक संस्कृति चिनाउन रिसोर्टले विशेष कार्यक्रम र भ्रमण प्याकेजहरू अघि सारेको रिर्सोटका प्रबन्ध निर्देशक गोविन्द मर्हजनले जानकारी दिए।
‘टिस्टुङको प्रसिद्ध धार्मिक स्थल बज्रबाराही मन्दिरलाई समेटेर बज्रबाराही–टिस्टुङ–पालुङ पदयात्रा मार्ग विकास गरी धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने तयारी भइरहेको छ। यसका साथै स्थानीय कला, संस्कृति, भेषभूषा र भाषाको संरक्षणका लागि विशेष सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिने योजना छ। यसबाट यहाँको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रर्वद्धन हुने अपेक्षा छ’ उनले भने।
रिर्सोटमा नवनिर्मित स्वमिङि पुल उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण ग्रामीण क्षेत्रको पर्यटन विकासमा यस्ता पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न स्थानीय मौलिकता र आधुनिक सुविधाबीचको सन्तुलन आवश्यक रहेको धारणा राखे।
त्यस्तै, होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष शंकर भण्डारीले पर्यटनलाई सहरकेन्द्रित मात्र नभई गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै टिस्टुङ रिसोर्टले त्यस दिशामा सकारात्मक र उदाहरणीय कार्य गरेको उल्लेख गरे।
पारिवारिक भ्रमण, साथीभाइहरूसँगको पिकनिक, रात्रिबासका साथै विभिन्न संघसंस्थाका गोष्ठी, तालिम तथा सेमिनार आयोजनाका लागि टिस्टुङ रिसोर्ट एक उपयुक्त र बहुउपयोगी गन्तव्य बन्ने विश्वास लिइएको छ।
