प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको आजै जवाफ दिने
बुधबार, १३ असार २०८०
दोलखा । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरू माथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यस लगत्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
अन्तिममा अर्थ मन्त्री डा. प्रकाश शरण महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले “आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक, २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बजेट आजै पास गर्ने तयारीका साथ सत्तारुढ दलहरूले आ आफ्नो पार्टीमा ह्विप लगाएका छन् ।


