आईतबार, १४ श्रावण २०८०, दोलखा
दोलखाको गौरीशंकर गाउँपालिकामा उपनिर्वाचन हुने भएको छ।
गाउँपालिकाका उपाध्यक्ष स्यामसुन्दर तामाङको निधनपछि सो पद रिक्त भएका कारण उपनिर्वाचन गर्नु पर्ने भएको हो।
तामाङको निधनपछि पालिकाको उपाध्यक्ष पद रिक्त भएको छ। नेपालको संविधान २०६३ अनुसार गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनद्धारा हुने व्यवस्था छ।
संविधानको धारा २१५ को उपधारा ६ बमोजिम गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ। सोही धाराको उपधारा ८ मा अध्यक्षले उपाध्यक्ष समक्ष र उपाध्यक्षले अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा पदावधि समाप्त भएमा वा मृत्यु भएमा सो पद रिक्त हुने व्यवस्था छ।
उपाध्यक्ष तामाङको गत असार ३१ गते मुटुको शल्यक्रियाको क्रममा निधन भएको थियो। नेपाली कांग्रेसका नेता समेत रहेका तामाङ २०७९ साल बैशाख ३० गते नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनवाट ४ हजार ७ सय ४१ मत प्राप्त गरी उपाध्यक्ष पदमा बिजयी भएका थिए।
निर्वाचित भएको १४ महिनामै उनको निधन भएर उपाध्यक्ष पद रिक्त भएको हो। गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा तामाङले निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार मुना शिवकोटी केसीलाई १ हजार ४ सय ६० मतले पराजित गरेका थिए। मुनाले ३ हजार २ सय ८१ मत पाएकी थिईन्।
निर्वाचन आयोगले मिति तोकेपछि गौरीशंकर गाउँपालिकामा पनि उपनिर्वाचन हुनेछ। संबिद्यानमा भएको व्यवस्था अनुसार सरकारले स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदमा उपनिर्वाचन गर्न निर्देशन दिए निर्वाचन आयोगले उपनिर्वाचन गराउनु पर्नेछ।
