मंगलबार पनि नेप्से परिसूचक घटेको छ।

गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण प्रकाशित गरिसकेका कम्पनीहरूको लाभांश क्षमतामा ह्रास देखिएपछि बजार घट्न सुरू गरेको हो।

वित्तीय विवरणले धेरैजसो कम्पनीको लाभांश क्षमता कमजोर देखिएपछि लगानीकर्तामा निराशा देखिएको हो। लगानीकर्ताको मनोबल कमजोर बनेपछि नेप्से झन् घट्ने क्रममा छ।

सोही कारण तीन दिनमा नेप्से परिसूचक ६९.९८ अंकले घटिसकेको छ।

मंगलबार नेप्से परिसूचक २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँमा सीमित भएको छ।

यस दिन २६५ वटा धितोपत्रको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच भएको हो।