आइतबार, ०३ भदौ २०८०, दोलखा । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न जानकारीहरु दिने कार्यसूचि रहेको छ।
यस्तै, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने पनि कार्यसूची छ। यसैगरी आइतबारको बैठकमा एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन तथा सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउने कार्यसूची रहेको छ।
गत साउन १० गते यता म्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेको छैन।
सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ।
