सोमबार, ११ भदौ २०८०, दोलखा । बागमती प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने दोलखासहित ५ प्रादेशिक अस्पताल आईसीयू विहीन रहेका छन्।

प्रदेशको पशुपति चौलागाई स्मृति अस्पताल दोलखा, रामेछाप अस्पताल, रसुवा अस्पताल, बज्रवाराही चापागाउँ अस्पताल ललितपुर, र टोखा चण्डेश्वरी अस्पताल काठमाडौंमा आईसीयूसेवा उपलब्ध नभएको हो। प्रदेश सरकार अन्तर्गत रहेका १३ वटामध्ये ८ वटा प्रादेशिक अस्पतालमा मात्र आईसीयू सेवा सञ्चालनमा रहेको छ। प्रदेश सरकार मातहतका अस्पतालको कुल ८ सय ७९ शैया क्षमतामध्ये ४ प्रतिशत मात्र आईसीयू, २ प्रतिशत एनआईसीयू र ९४ प्रतिशत सामान्य शैया रहेका छन्। आईसीयूसेवा उपलब्ध नभएका अस्पतालमा सामान्य शैया मात्र रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ती अस्पतालमा क्याबिन र विशिष्टीकृत शैयासमेत नरहेकाले सामान्य शैयाबाट उपचार सेवा प्रवाह हुँदै आएको हो। चालु अर्थिक वर्षबाटै मन्त्रालयले ती अस्पतालको सेवा सुधारका लागि आईसीयू, एनआईसीयू र क्याबिन तथा सामान्य शैया थप गरेर सेवा प्रवाहरलाई स्तरीय गर्ने योजना अनुसार बजेट तर्जुमा गरेको प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बताए।