सोमबार, १८ भदौ २०८०, दोलखा। गैँडाको खागको साथमा दोलखाका एक सहित ४ जना पक्राउ परेका छन्।

खागको साथमा दोलखाको मेलुङ गाउँपालिका ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका ७ का पूर्ण सिंह तामाङ, काठमाडौँको बुढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का कर्ना तामाङ पक्राउ परेका हुन्। संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको सुचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये दुई जनालाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका ७ हरहर महादेवस्थानबाट र उनीहरुको बयानका आधारमा अन्य दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका थिए। उनका अनुसार उनीहरु चार जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको छ।