बुधबार, २७ भदौ २०८०, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राज संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरे।
ठूला दलहरुले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उलिङदेनले अब राजसंस्थालाई अभिभावकीय भुमिका दिने गरी अघि बढनु पर्ने प्रश्ताव गरे।
बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै लिङदेनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हीतकर हुने पनि दोहोर्याएका छन्। लिङदेनले जनताको अधिकारका लागि हो भने संघीयताप्रति आफूहरुको आपत्ति नरहने तर्क गर्दै जनप्रतिनिधिको संख्या भने भारी मात्रामा कटौति गर्नु पर्ने आवश्यक्ता औंल्याए। जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरुको भार देशले थेग्न नसक्ने अध्यक्ष लिङदेनको भनाई थियो।
अध्यक्ष लिङदेनले गौहत्या तत्काल रोक्न सरकारलाई सचेत गराए। गाई, गोरु मार्छु भन्नेहरुलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खल्बल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने लिङदेनलेचेतावनी थियो।
अध्यक्ष लिङदेनले गिद्ध समेत मार्न नपाईने कानून भएको देशमा गाई मार्छु भन्नेहरुलाई सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। लिङदेनले धर्म निरपेक्षताको नाममा द्वन्द्वको बिजारोपण गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराए। अध्यक्ष लिङदेनले धर्म परिवर्तनको बाटोमा नजान सिंगो देशबासीलाई पनि आह्वान गरे।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले तीन ठूला दलले मुलुकलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाउँदै त्यसको बिरोधमा आफूहरु उत्रनु परेको बताएका थिए।
