आइतबार, ३१ भदौ २०८०, दोलखा। नेपाल चिकित्सक संघले आज मुलुकभर स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले विज्ञप्ति जारी गरी मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो। भदौ २७ गते डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांंघातिक आक्रमण भएको थियो। यसअघि घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो।
दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो। देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ।
