मेलुङ, दोलखा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोलखाको मेलुङ गाउँपालिकामा आफ्नो संगठन विस्तार र सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा मेलुङ वडा नं. १, पवटीमा पार्टीले नयाँ सदस्यहरूलाई भव्य स्वागत गरेको छ।

पवटीमा आयोजित एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका उर्जावान व्यक्तित्वहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका हुन्। नयाँ सदस्यहरूको आगमनसँगै मेलुङमा रास्वपा थप बलियो र जुझारु बनेको स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन्।

पार्टी प्रवेश गर्ने व्यक्तित्वहरूलाई स्वागत गर्दै स्थानीय कार्यकर्ता पुरुषोत्तम लकाईले नयाँ सदस्यहरूको आगमनले संगठनमा थप ऊर्जा र हौसला मिलेको बताउनुभयो। उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “मेलुङ १ पवटीमा हामी थप बलियो, निखारिएको र तिखारिएको महसुस गरिरहेका छौं। हजुरहरू जस्तो व्यक्तित्वलाई स्वागत गर्न पाउँदा हामीलाई थप ऊर्जा मिलेको छ।”

नयाँ सदस्यहरूको उपस्थितिले आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीको “जय देश, जय मेलुङ” को संकल्पलाई अझ सशक्त रूपमा अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यक्रममा स्थानीय तहमा सुशासन र परिवर्तनका लागि रास्वपाको भूमिकाबारे समेत चर्चा गरिएको थियो।