
काठमाडौं, असार ४
विश्वकप फुटबलअन्तर्गत समूह चरणको पहिलो राउन्ड पूरा भएको छ। बिहीबार बिहान समूह ‘के’ र ‘एल’का खेल सकिएसँगै पहिलो चरणका खेल सकिएका हुन्।
पहिलो चरण पूरा हुँदा समूह बी, जी, एचका १२ टोलीले बराबर १/१ अंक बनाएका छन्।
त्यसैले नकआउट चरण पुग्न यी टोलीलाई दोस्रो र तेस्रो चरणका खेल अति नै महत्त्वपूर्ण छन्।
समूह चरणका पहिलो खेलमा विजयी समूह एका मेक्सिको र दक्षिण कोरिया, समूह सीको स्कटल्यान्ड, समूह डीका अमेरिका र अस्ट्रेलिया ३/३ अंक बनाउन सफल भएका छन्।
यसैगरी समूह ईका जर्मनी र आइभरीकोस्ट, समूह एफको स्विडेन, समूह आईका नर्वे र फ्रान्स, जेको अस्ट्रेलिया र अस्ट्रिया, समूह केको कोलम्बिया, एलका इंग्ल्यान्ड र घानाले पनि ३/३ अंक जोडेका छन्।
पहिलो चरणका खेल सकिँदा उत्कृष्ट तेस्रो स्थानका लागि समूह चरणमा १ अंक बनाएका नेदरल्यान्ड्स, ब्राजिल, बेल्जियम, कतार, पोर्चुगल, स्पेन, चेकिया र इक्वेडर प्रतिस्पर्धामा छन्।
यद्यपि बिहीबार राति सुरु हुने दोस्रो चरणका खेलले यो अवस्थालाई हेरफेर गर्नेछ।
पहिलो चरणको खेलमा समूह ईको जर्मनीले कुराकाओलाई ७–१ को फराकिलो अन्तरले हराउँदै सानदार जित दर्ता गरेको छ।
समूह एचको स्पेन केप भर्डेसँग गोलरहित बराबरीमा रोकिनु फुटबल समर्थकका लागि अप्रत्याशित नजिता बनेको छ।
जारी विश्वकपमा एसिया क्षेत्रबाट अस्ट्रेलिया, इराक, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, कतार, साउदी अरेबिया र उज्वेकिस्तान सहभागी छन्।
तीमध्ये अस्ट्रेलिया र दक्षिण कोरिया पहिलो चरणबाट ३ अंक जोड्न सफल भएका छन्।
विश्वकपमा डेब्यु गरेका इराक, जोर्डन र उज्वेकिस्तान भने अंकविहीन छन्।
जापान, साउदी अरेबिया, इरान, कतारसँग १/१ अंक छ।
विश्वकप समूह चरणअन्तर्गत दोस्रो राउन्डका खेल बिहीबार राति सुरु हुँदै छ।
बिहीबार समूह एका चेकिया र दक्षिण अफ्रिका तथा मेक्सिको र दक्षिण कोरिया भिड्दै छन्।
पहिलो खेलमा विजय हासिल गरेका मेक्सिको र दक्षिण कोरिया तालिकामा ६ अंक बनाउने रणनितिमा मैदान उत्रँदै छन्।
चेकिया र दक्षिण अफ्रिका भने पहिलो अंक जोड्ने प्रयासमा हुनेछन्।
समूह बीका स्विटजरल्यान्ड र बोस्निया एन्ड अर्जगोभिना तथा क्यानडा र कतार खेल्ने तालिका छ।
समूह बीका चारै टोलीसँग समान १/१ अंक भएकाले उनीहरू स्पष्ट जितको खोजीमा मैदान उत्रनेछन्।
