दाङ, मंसिर ८

एमाले महासचिव शंकर पोखरेल पराजित भएका छन्। दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्।

यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ। निर्वाचन अधिकृतले अन्तिममा जोड घटाउ गर्दा दुई चार मत तलमाथि हुनसक्ने अनलाईन बुलेटिनलाई बताए।

एमालेका महासचिव पोखरेल लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री हुन्।

२०७० को निर्वाचनमा दाङबाट हारेका उनले २०७४ को निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट प्रदेश सांसद जितेका थिए।

उनी २०६४ मा समानुपातिकबाट सांसद बनेका थिए। २०५१ मा पहिलो पटक सांसद बनेका पोखरेलले २०५६ मा भने निर्वाचन हारेका थिए।

उनी एक पटक सञ्चार मन्त्री भइसकेका छन्। पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रसमेत हुन्।

एक वर्षअघि भएको एमालेको दसौं महाधिवशेनबाट ओलीले पोखरेललाई शक्तिशाली महासचिव बनाएका थिए।

२०६५ सालमा एमाले सचिव निर्वाचित पोखरेल २०७१ मा उपमहासचिवमा पराजित भएका थिए।

पोखरेल एमालेभित्र बौद्धिक छवी बनाएका नेता हुन्। उनी जनताको बहुदलीय जनवादको व्यख्याताको रूपमा समेत एमाले नेता कार्यकर्तामा परिचित छन्।