१४ बैशाख २०८०, दोलखा । यहि बैशाख १२, मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पद किन नगएको भन्दै सभामुखलाई प्रश्न उठाइन् । उनले नेपालको संविधान २०७२ को धारा ८९ घ मा कुनै पनि सांसद १० वटाभन्दा बढी बैठकमा बिना जानकारी उपस्थित नभएमा निजको सांसद पद रिक्त हुने व्यवस्था रहेको लक्ष्मी महतो कोइरीले सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन वा जानकारी नगराई, यदि जानकारी नगराई बैठकमा नआएको भए कोइरीलाई अहिलेसम्म किन कारबाही गरिएन, भन्दै सभामुखसँग जानकारी मागेकी थिइन् । तर सभामा सभामुखले सदनमा यसबारे जानकारी गराएनन् ।
नेपालको संविधान धारा ८९ को ९घ० मा सम्बन्धित सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा सांसद पद जाने व्यवस्था रहेको छ । तर सांसदले बैठकमा उपस्थित नहुने हो भने सभामुखलाई पूर्व सूचना दिनुपर्ने हुन्छ । आजसम्म कुन कुन सांसदले बिना सूचना कति पटक संसद् बैठकमा उपस्थित भएनन् र सूचना दिएर को कतिपटक उपस्थित भएनन् भनेर संसद् अधिवेशनको अन्तिम बैठकमा एकमुष्ट जानकारी गराउने प्रचलन रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए थिए ।
महोत्तरी क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै महतो निर्वाचित भएका हुन । महतोमाथि ७ वर्षअघि मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका सई थमन विकको हत्या अभियोग लागेको थियो ।
पुस ७ गते नवनिर्वाचित सांसदहरूको शपथको क्रममा लक्ष्मी महतो कोइरीले संसद् भवनमा पुगेर शपथ लिएका थिए भने दोस्रो पटक माघ २७ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन र सभामुखको निर्वाचनको दिन पनि उनी संसद् भवनमा पुगेका थिए । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा महतो पक्राउ नपर्नुको कारण तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग मागेपछि महतो फरार रहँदै आएका छन् ।
