बुधबार, २७ असार २०८०
दोलखा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपैयाँको माग गर्दै नदिए ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्राउ गरेको छ। खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई सीआईबीको टोलीले मंगलबार बिहान महाराजगन्जबाट पक्राउ गरेको थियो।

प्रहरीका अनुसार गुरुङ दुई वर्ष अघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी यस अघि साउदीमा पनि कथित रूपमा रक्सी खाएको आरोपमा सात महिना जेल पनि बसेका थिए। नेपाल आए पछि आर्थिक अभाव भोगेका गुरुङले प्रसाईंसँग पैसा उठाउने योजना बनाएको खुलेको छ। मसँग पैसा थिएन थ्रेट गरे पछि पैसा आउँछ भनेर धम्की दिएको हुँ,’ गुरुङको भनाई उदृत गर्दै प्रहरीले अनलाई बुलेटिनलाई जानकारी दिएको छ। प्रहरीका अनुसार गुरुङले प्रसाईंलाई फोन गरेर ‘३० करोड दिनु नत्र हामीले तेरो हत्याको योजना बनाइसकेका छौँ। कात्रो तयार राख्नु’ भन्दै धम्की दिएका थिए। प्रहरी भन्छ, ‘सुरुमा ३० करोड रुपैयाँबाट सुरु भएको बार्गेनिङ ६ करोड हुँदै अन्तिममा ५ करोडमा टुङ्गिएको थियो।

पैसा लिनका लागि गुरुङले फोन गरेर कतार भिसा सेन्टर अगाडि बोलाएका थिए। तर, सीआईबीको टोली पहिले नै त्यहाँ स्ट्यान्ड बाई रहेको थियो। पहिला अर्को गाडीलाई सामान पिक अप गरि दिनु भन्दै पठाएका उनी पछि आफै पठाओ चढेर त्यहाँ पुगेका थिए। गुरुङ आउने बित्तिकै हामीले उनलाई समात्न सफल भयौँ। यस घटनामा उनी एक्लै संलग्न थिए वा अरू पनि सहयोगी थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।