चुनाव अघिका तिम्रा प्रतिबद्धताहरू
जनतालाई दिएको सारा आश्वासनहरू
आखिर झुटा निस्किए।
सत्ता र सरकार तिम्रै हातमा
बिचरा जनता न सरकार साथमा न सत्ता नै हातमा।
बिर्सिएका छैनन् जनताले तिम्रा भाषण
चिल्लो सडक बनाउँछु भन्थ्यौं
खानेपानी र बिजुली ल्याउछु भन्थ्यौं
काम खोज्दै विदेश भैतारिनु पर्ने बाध्यता पनि हटाउँछु भन्थ्यौं
तर खोइ के गर्न सक्यौं।
फरक छ भाषण गर्नु र काम गर्नुमा
शब्दमै हराए तिम्रा एजेन्डाहरू
जब सत्तामा पुग्यौ तब सबै बिर्सियौं
जनताले जिताएको तिमी, तर विडम्बना
तिमी करोडौँको चिल्लो कारमा गुडिरहँदा
जनता उही खाल्डा खुल्डी तर्दै छन्।
तिमीले त देख्दैनौं होला हिलो र धुलो सडकहरू
जहाँ हरेक दिन कोही न कोही चिप्लिएर लडिरहेछन्
मोटरसाइकल, कार र ट्याक्सीहरू फसिरहेछन्
जोखिम मोल्दा कतिले गुमाए अकाल मै ज्यान
टुहुरा भए कयौँ सन्तान।
कहिले पहिरोले सडक रोकियो
कहिले ट्राफिक जामले
कालोपत्रे सडक बनाउँछु भन्थ्यौ
खै योजना आज कता रोकियो।
सडकको जाममा एम्बुलेन्सभित्र बिरामी छटपटिरहँदा
तिम्रो सवारले बिरामीको सास रोकियो।
चुनाव अघि गर्छु भनेका काम रोकिए
चिल्लो सडक बनाउने योजना रोकिए
सबैको भलाई हुने थियो
सायद तिम्रो सवार नै रोकिए।
© 2025, Online Bulletin