लामो समयको अन्तरालपछि आज फेरी साहस गरेँ
सँगै चढ्ने गाडीमा उक्लिएँ
मन सम्हालेर जब भित्र पसेँ
सँगै बसेको सीटले पनि चिनेछ क्यारे
उ तिरै बोलाउँदै थियो।

हामी बसेको सीटमा गएर टुसुक्क बसेँ
तिमी जस्तै प्यारो थियो त्यो सिट मेरा लागि
तिमी सँगै नभए नि मन एकछिन खुशी भयो
तिमी सँगै हुँदा त्यो अन्तिम सीटसँग जोडिएको नाता
अवस्मरणीय रहने भयो।

त्यो यात्रा, तिम्रो साथ अनि न्यानो माया
सँगै हुँदा कुन ठाउँ पुगेको थाहै नपाउने म
तर आजभोलि यही यात्रा बोझ बनिरहेको छ।

हरेक यात्रामा ती गाडीका झ्याल र ढोकाहरूले समेत तिमलाई नै खोज्छन्
झ्यालबाट छिर्ने सिरिरि हावाले तिम्रैबारे सोध्छन्
खै तेरो प्यारो मान्छे भन्छन्।

अह, मसँग यसको जवाफ नै छैन
म निशब्द हुन्छु
कहिले कही त लाग्छ यिनीहरूले गिज्याइरहेछन्
तर पनि लाचार र शब्द विहिन हुन्छु।

सँगै नभए पनि महसुस गर्छु
तिम्रा गालामा देखिने डिम्पल
ती मृगनयनी नयन आज फेरि सम्झिरहेछु।

गाडीको त्यो अन्तिम सीट मात्र होइन
हात समाउँदै हिडेका बाटा र गल्लीहरू
आँखामा आँखा जुधाउँदै गरेका बातहरू
फेरि त्यही बाटो हिड्दै गर्दा तिम्रै यादमा ठोकिन्छु
अनि फेरि तिमीलाई नै सम्झन्छु।