मंगलबार, १६ साउन २०८०, दोलखा । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस कोशी संसदीय दलकानेता उद्धव थापाले दाबी पेस गरेका छन।
गठबनधन दलका तर्फबाट आज मंगलबार बहुमत सहित कांग्रेस नेता थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेस भएको छ। थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ सांसदले समर्थन गरेका छन्।
थापाको पक्षमा बहुमत पुर्याउन माओवादीबाट सभामुख बन्नु भएका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाइएको थियो। सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक पर्छ। जसमा एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्। प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल रहेको छ।
गत असारमा सभामुख गौतमको समेत समर्थनमा मुख्यमन्त्री बन्नु भएका कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिए पछि कोशीमा नयाँ सरकार गठनको प्रस्ताव आएको हो। प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आज मंगलबार साँझ ५ बजेसम्मको समय रहेको छ। सभामुख गौतमले तटस्थ भूमिका निर्वाह नगरी कांग्रेस नेता थापालाई सरकार बनाउन हस्ताक्षर गरेको भन्दै असारमा एमाले कोशी प्रदेश संसदीय दलका नेता एबं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट निवेदन दिएका थिए। त्यसको सुनुवाई गर्दै सर्वोच्चले गत हप्ता थापाको मुख्य मन्त्री नियुक्ति बदर गरेको थियो। त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गत शुक्रबार आजको समयसीमा तोकेर आव्हान भएको थियो।