अगाध प्रेमको प्रभाव


अनलाईन बुलेटिन संवाददाता

 भनिन्छ प्रेममा शक्ति हुन्छ।

त्यो असिम शक्तिले सबैथोक परिवर्तन गरिदिन सक्छ। यहाँ म कुनै युवायुवतीको कहानी भन्न गइरहेको छैन। एउटा सानो प्रयोगको उदाहरण प्रस्तुत गर्न गइरहेको छु। लुथर बुरबाङ्क विख्यात वनस्पतिशास्त्री हुन्।

उनले आफ्नो अगाध प्रेमद्वारा क्याटकस (सिउडी) को मन जितेका थिए। उनले वनस्पतीहरूका बीचमा काम गर्दागर्दै एउटा काँढेदार सिउडीमाथि अनौठो प्रयोग गरे। काँढेदार सिउडीलाई उनले यति धेरै माया गरे कि उनी दिनदिनै उसको नजिक जान्थे र भन्थे, ‘प्रिय क्याटकस! म तिम्रो सबैभन्दा प्यारो, सबैभन्दा नजिकको संरक्षक हु। तिम्रो असल साथी हु।

तिम्रो शरीरमा तिमीले जुन काढाँ उमारेका छौ, त्यो शत्रूबाट सुरक्षित हुन बनिएको हो। अब मसँग मेरो सान्निध्यमा रहेपछि तिम्रो जीवनमा कुनै पनि खतरा छैन। कुनै पनि खालको असुरक्षा तिमीले महसुस गर्नुपर्दैन। तिमी मलाई विश्वास गर अनि तिमी आफ्नो सुरक्षामा ढुक्क होउ। अब तिमीले काँढा उमारीराख्नु पर्नेछैन प्रिय क्याटकस। ममाथी भरोसा गर। तिम्रो असली पहरेदार म छु। अब कुनै पनि डर नमान प्रिय।’

यसरी बुरबांकले उक्त सिउडीलाई दिनको दिन आश्वस्त बनाउन थाले। माया प्रकट गरिरहे। यसरी निरन्तर हेरचाह गरे कि उनको अतिशय प्रेम र सुझावले क्याटकसका कोषहरूमा सकारात्मक समवेदना जाग्न थाल्यो। उनले लगातार सात वर्षसम्म हजारौ, लाखौ चोटि सिउडीको उक्त बोटलाई सुरक्षाको आभास दिलाइरहे। सात वर्षपछि एकदिन वनस्पती जगतमा अनौठो घट्न घट्यो। उक्त क्याटकसको नयाँ उत्पादनमा बिलकुलै काँढा देखिएन। इतिहासमै पहिलोपटक काँढारहित सिउडी जन्मियो। महान् बुरबांक आफ्नो प्रयोग सफल भएकोमा अत्यन्त खुसी भए। उनले विश्व प्रेम र सद्भावको महान् उदाहरण संसारलाई प्रदान गरे।

हो, प्रेमले हर कसैको मन जित्न सक्छ, सद्भावले कसैको जिन्दगी नै बदल्न सक्दछ। माथीको सतत प्रयोगले यो सिद्ध गर्दछ। साथै अर्को के कुरा पनि प्रमाणित हुन्छ भने नियमीत दिइने सुझावले जाँदुको झै काम गर्दछ। अस्तु।

– यात्री केशर

सम्बन्धित खबर