टेका लगाई राखेको घर पहिरोले पुरिदियो
किनारामा बाँध लाएको खोला पनि थुनिदियो।
बगिरहेको दोभान खोला सुसाउँदैछ
परको तारे भिरले पहिरोलाई बोलाउँदैछ
भिरका ती ढुङ्गाहरु बेसीतिर झर्दै छन रे
कुहिरोका साथीहरू बादल बन्दै छन रे।
खडेरीले सुकेका रूखहरू हरियाली हुँदैछन् रे
खोला अनि खोल्साको वहाब पनि बढ्दै छ रे।
कति घरबारविहिन भए
कति भए टुहुरा टुहुरी
कसले सक्छ रोक्नलाई
प्राकृतिक प्रकोप र हावाहुरी।
पुल छैन स्कुल जादा तर्ने घ्याङखोलाको
तुइन चढेर खोला तर्नुपर्ने यो कस्तो बाध्यता हो
डराउँदै छन् बालबालिका स्कुल जानलाई
पहिरोले थुनिएको बाटोमा कदम चाल्नलाई।
पोहोर साल लगाएको गारो फेरी खसेको छ
दिनरातको झारी सबै भुई तल्लामा पसेको छ
न त खाने टुङ्गो रह्यो न त बस्ने बासको
सारा गाउँ शुन्य भयो थुप्रो लासैलासको
मुलबाटोको पानी सबै बारी भरी पसेको छ
घर माथी को कान्लोपनी धराप भई बसेको छ ।
रोड खन्दा बनाएका पहरा नि खसेको छ
हिलो माटो र ढुङ्गाहरु सडकमा बसेको छ
गन्तव्यमा पुग्नुपर्ने हजारौ गाडी र टिफरहरू
कोप्चा सडकको हिलोमा फसेको छ।
वर्षायामको झारी गाउँभरी पसेको छ
बाढीले बनाएको दुर्दशा सबैको मानसपटलमा बसेको छ
सडकभरी सवारी साधन फसेको छ
साच्चीकै यो झरीले हाम्रो जीवन फसेको छ
घर माथिको कान्लो पनि धराप भइ बसेको छ।
