बुधबार, ३१ साउन २०८०, दोलखा । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल पाँच वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले रिजाजलाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो। दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरुसँग धम्क्याएर पैसा असुलेका थिए। २०७६ साल २० माघमा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ विगो जरिवाना हुने आदेश दिएको छ। अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टचार गरेको आरोपमा चारवटा मुद्धा लगाइएको थियो।

त्यसपछि बील बनाइ रकम दुरुपयोग गरेको आरोपमा पाँचौ मुद्धा दायर भएको थियो। यी सबै मुद्धा एकै दिन दायर भएका थिए। अभियुक्तलाई महिलासम्बन्धी मुद्दा लाग्ने र जागिर जानसमेतको डर देखाउँदै धरौटी रकमका रुपमा रिजालले चार लाख रुपैयाँ लिएको अख्तियारले ठहर गरेको थियो। रिजालविरुद्ध कूल विगो रकम ६ लाख ५२ हजार ६ सय कायम गरी पाँचवटा आरोप पत्र दायर गरिएको थियो। सेवाग्राहीसँग घुस लिएको आरोप लागेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई गत मंसिर २४ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो। उनलाई अख्तयारको टोलीले गत पुस १५ गते पक्राउ गरेको हो। घुससहित पक्राउ परेका तत्कालीन प्रजिअ रिजालविरुद्ध अख्तियारले २०७६ साल माघ २० मा विभिन्न पाँचवटा आरोप पत्र विशेष अदालतमा दर्ता गराएको थियो।

रिजालको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएकोले ठहरसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड ग बमोजिम सजाय गरी हिनामिना, हानिनोक्सानी गरेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर गर्न अख्तियारले माग गरेको थियो।