सुन तस्करीको अनुसन्धानका लागि छुट्टै समिति बन्दैनः गृहमन्त्री श्रेष्ठ


कृष्ण बुढाथोकी

आइतबार, ०३ भदौ २०८०, दोलखा । हिजो शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन तस्करीको अनुसन्धानका लागि छुट्टै समिति नबनाउने जानकारी दिएका छन्।

सीआइबीबाटै सुन काण्डका दोषि पत्ता लाग्ने उनले दाबी गरे। प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका थिए। यसअघिका अनुभवमा पनि विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको बताउँदै उनले राज्यको संस्थागत रुपले दक्ष, जिम्मेवार र अनुसन्धानकै लागि भनेर निर्माण गरिएका संरचना, संयन्त्रहरुलाई काम गर्न दिनुपर्ने बताए। गृहमन्त्री श्रेष्ठले भने ‘एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २२ किलो सुन काण्डको अनुसन्धान गर्न छानविन समिति बनाएको, त्यो समितिले रिर्पोट पनि दिएको तर, त्यसपछि न सुन आयो, न त्यसको सिफारिस कार्यान्वयन भयो।’

छानबिन समिति तिर जानुभन्दा पेसागत रुपमा यसकै लागि विकसित भएको सीआईबीले यो अनुसन्धान अघि बढाउँदा दोषिहरु पत्ता लाग्ने र तिनिहरुलाई कानुनको दायरामा ल्याउन सक्ने उनको भनाई थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुनु सबैका लागि लज्जाको विषय भएको गृहमन्त्री श्रेष्ठले बताए।

सम्बन्धित खबर