तौल बढेर हैरान हुनुहुन्छ र तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईंको मनमा अब जिम जानुपर्यो भन्ने सोच त आएकै होला।
कुन जिम जाने होला भन्ने चिन्ता पनि होला। कस्तो डाइट फलो गर्ने भन्ने पनि लागेको होला। केही व्यक्ति देख्नुभएको होला, जसले डाइट प्लान बनाएर त्यसलाई पछ्याउन थाल्छन् र अल्छीपनका कारण व्यायाम गर्न पटक्कै मन पराउँदैनन्। यस्तोमा खानपानमा ध्यान दिएर व्यायाम नगरे पनि तौल घट्छ त?
फिटनेस क्लब जानुअघि के के कुरा थाहा हुनुपर्छ? फिटनेस क्लब जानुभन्दाअघि आफ्नो तौल कति छ भनेर थाहा हुनुपर्छ। त्यसपछि शरीरको क्षमता कस्तो छ र क्लबमा कस्तो कस्तो व्यायाम हुन्छ, मैले कस्तो व्यायाम गर्ने भन्ने विषयमा व्यायामसँग सम्बन्धी ज्ञान भएको मान्छेसँग बुझ्नुपर्छ। व्यायाम नगरी रहेको बानी हुन्छ।
त्यस्तो व्यक्तिले फिटनेस क्लब जाने बित्तिकै एकदमै गाह्रो खाले व्यायाम सुरु गर्न हुँदैन। वार्मअप गर्ने र सजिलो व्यायामबाट सुरु गरेर पछि बिस्तारै व्यायामलाई बढाउँदै लैजानुपर्छ। फिटनेस क्लब किन जाने ? तौल घटाउनु गाह्रो काम होइन, तपाईंले केही दिन खानै खानु भएन भने पनि तौल त घट्छ। तर तौल घट्नुका साथै स्वास्थ्य हुनु पनि जरुरी छ।
शरीरमा मांसपेशी, पानी र बोसो हुन्छ। स्वास्थ्य तरिकाले तौल घटाउन शरीरको मांसपेशी होइन, बोसो मात्र कम हुनुपर्छ। शरीरलाई दैनिक दुई हजार क्यालोरी चाहिन्छ। दुई हजार क्यालोरी खायौं अनि ५०० क्यालोरी व्यायाम गरेर घटायौं भने शरीरलाई चाहिने ऊर्जा शरीरमा भएको बोसोलाई टुक्राएर प्रयोग गर्छ। जसले गर्दा तौल बिस्तारै नियन्त्रण हुँदै जान्छ र मोटोपनका कारण निम्तिने उच्च रक्तचाप, मधुमेहजस्ता समस्याबाट पनि बच्न सकिन्छ।
नियमित शारीरिक गतिविधिले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। यसले हाम्रो शरीरलाई संक्रामक रोगबाट बचाउँछ। शरीरमा मांसपेशी बढाउन कस्तो व्यायाम गर्नु उचित हुन्छ?
शरीरमा मांसपेशी बढाउन शरीरको एउटा भागलाई केन्द्रित गरेर व्यायाम गरिन्छ। मानौं, कहिले छातीको मांसपेशी बढाउनु छ भने छातीलाई केन्द्रित गरेर व्यायाम गरिन्छ। मांसपेशी बढाउन वेट ट्रेनिङ मांसपेशी बढाउने विशेष तालिम गरिन्छ। व्यायामबाटै शरीरको बोसो घटाउन सकिन्छ? शरीरलाई चाहिनेभन्दा कम खाना, एक्सरसाइज बढी गर्नुलाई ओभरट्रेन भनिन्छ।
जसले बोसो घटाउँछ, सँगै मांसपेशी पनि घटाउँछ, यसले दूरगामी असर पुर्याउँछ। त्यसैले पातलो र चिटिक्क परेको शरीर होइन, आफ्नो उमेर र उचाइअनुसार तौल राख्नुपर्छ। प्रत्येक अंगको लागि हरेक प्रकारको पोषण चाहिन्छ। सन्तुलित भोजनको सेवन र दिनमा आधा घण्टादेखि ४५ मिनेट एक्सरसाइज गरेर बोसो घटाउन सकिन्छ।
जिम गएर मात्र होइन, घरमै पनि व्यायाम गरेर तौल घटाउन सकिन्छ। घरमै आधा घण्टा दौडिने, उफ्रिने, ब्याडमिन्टन, भलिबलजस्ता खेल खेल्ने गरेर पनि तौल नियन्त्रण हुन्छ। जिम गएपछि कस्तो खानपान गर्नुपर्छ? तौल नियन्त्रण गर्न आहार र व्यायाम दुवैको समान भूमिका हुन्छ। त्यसैले दैनिक खानामा कार्बोहाइड्रेटको मात्रा अलि कम गर्नुपर्छ। खानामा प्रोटिन, फाइबर र खनिजको मात्रा बढाउनुपर्छ।
गुड फ्याटको सेवन गर्नुपर्यो। प्रशस्त मात्रामा फाइबर भएको तरकारी र सलादको पनि सेवन पनि गर्नुपर्छ। प्रोटिन सेक पनि खानुपर्ने हुन्छ ? एक सामान्य व्यक्ति तौल नियन्त्रण गर्नुका साथै शरीरलाई चिटिक्क, फूर्तिलो र बलियो बनाउन जिम जाने गर्छन्।
त्यसको लागि सन्तुलित आहार नै पर्याप्त छ, प्रोटिन सेक खानु पर्दैन। मानौं, कसैलाई धेरै मांसपेशी बढाउनुपर्ने छ, सिक्स प्याक बनाउनु छ धेरै हेभी एक्सरसाइज गर्नुपर्ने छ भने मात्र प्रोटिन सेक खानुपर्छ। उचित खानपान गर्ने, सही व्यायाम गर्ने, सन्तुलित दिनचर्या अपनाएर नै तौल नियन्त्रण गर्न सकिन्छ।
रक्तचाप, मधुमेह भएकाले जिम जाँदा के कुरामा ख्याल गर्नुपर्छ? रक्तचाप र मधुमेह भएका व्यक्तिले जिम जाँदा डाक्टरको सल्लाह लिनुपर्छ। उच्च रक्तचाप भएको व्यक्तिले जिममा गएर हेभी एक्सरसाइज गर्नु हुँदैन र खानपानमा पनि धेरै ध्यान दिनुपर्छ।
एकै दिन धेरै व्यायाम गर्नेभन्दा पनि बिस्तारै बढाउँदै लैजानुपर्छ।
__अनलाइनखबरबाट
