विहीबार, ०७ भदौ २०८०, दोलखा । (एजेन्सी) रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिन सहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ।
पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटनामा प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसले पुष्टि गरेको छ। विमान दुर्घटनामा पर्नेहरुमा वागनरका सहसंस्थापक दिमित्री अतकिन पनि रहेको पनि रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीले जनाएको छ।
वागनर प्रमुख सवार विमानमा कसैले आक्रमण गरेको हो वा प्राविधिक गडवडी हो भन्ने यकिन भइसकेको छैन। दुर्घटनापछि आगो लागेको विमानमा सवार कोही पनि जिवित नरहेको बताइएको छ।
प्रिगोजिनको नेतृत्वमा वागनर सैनिकले रुसको तर्फबाट युक्रेनमा लामो लडाई लडेका थिए। विशेषगरी युक्रेनको खर्सोन क्षेत्रलाई नियन्त्रणमा लिन प्रिगोजिनको महत्वपूर्ण भूमिका थियो । त्यसपछि प्रिगोजिनको रुसी संस्थापनसँग मतभेद बढेको थियो।
उनले दुई महिना अघि आफ्नो सैन्य समूह लिएर मस्को कब्जा गर्ने धम्की दिएका थिए।
