यातयात व्यवस्था विभागले दुई महिनायता सवारी चालक अनुमति पत्र (लाइसेन्स)को पूर्ण छपाइ कार्य रोकेको छ। लाइसेन्स छाप्ने ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा छपाइ कार्य प्रभावित भएको विभागले जनाएको छ।
अहिले वैदेशिक रोजगारमा जाने र अत्यावश्यक पर्नेहरुका लागि मात्रै कार्ड छपाइ भइरहेको छ। नियमित रुपमा हुने ठूलो परिमाणको छपाइ कार्य २ महिनादेखि रोकिएको हो।
लाइसेन्स छपाइ कार्य रोकिएपछि ट्रायल पास भएका तथा नवीकरण हुने पर्खाइमा रहेका करिब ८ लाख प्रभावित भएका छन्।
‘अहिले विदेश जानेहरुलाई मात्रै अत्यावश्यक पर्ने भएकाले छपाइ गरेर दिने गरेका छौं, त्योबाहेक छपाइ कार्य अहिले करिब रोकिएको अवस्था छ’ विभागका एक अधिकारीले भने।
उनका अनुसार ८ लाख कार्ड प्रिन्ट गरेर वितरण गर्नुपर्ने दायित्व छ ।
