बुधबार, ०३ असोज २०८०, दोलखा। आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदैछ।
वि.सं २०७३ सालको असोज ३ गते आजकै दिन संविधान दिवस जारी भएको अवसरमा विविध कार्यक्रम गरेर संविधान दिवस मनाउन लागिएको हो। मुलुकभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्। नेपालमा संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। यो वर्षको संविधान दिवस सरकारले तीन दिने मनाउने भएको छ।
जसमा हिजो असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरेको थियो। आज सैनिक मञ्ज टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएको छ। संविधान दिवसको दिन सरकारले सार्वजनिक बिदा समेत दिँदै आएको छ।
यस्तै, संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु पर्ने बताए। राष्ट्रपति पौडेलले नेपालको संविधानद्धारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु पर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानसभाबाट संविधान निर्माण हुनु नेपालको एतिहासिक परिघटना भएको जानकारी दिए।
जनयुद्ध, जनआन्दोलन लगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम् आन्दोलनको योगफलको रुपमा नेपालमा संविधान जारी भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधानले नागरिक तथा राजनीतक मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक हक अधिकार पनि सुनिश्चित गरेको बताए। प्रधानमन्त्रीले संविधान कार्यान्वयनमार्फत जनताको जीवन स्तरमा आमुल परिवर्तन गर्ने अभियानमा रहेको उल्लेख गर्दै सुशासन, समृद्धि सामाजिक न्यायको मार्गलाई फराकिलो बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको उल्लेख गरे ।
