सोमबार, ०७ साउन २०८१, नटिङह्याम । इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि लगातार दोस्रो जीत हासिल गरेको छ। दोस्रो टेस्टमा इंग्ल्यान्ड २ सय ४१ रनको फराकिलो अन्तरले विजयी बनेको हो पहिलो टेस्टमा इंग्ल्यान्ड एक इनिङ्स र ११४ रनले विजयी भएको थियो।

३ सय ८५ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली अन्तिम दिन मात्र १ सय ४३ रनमा समेटियो। क्यारेबियन टोलीलाई सस्तोमा समेट्न शोहेब बसिरले घातक बलिङ गरे। उनले ११।१ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए।

त्यस्तै, क्रिस वोक्स र गस एटकिन्सनले २–२ विकेट हात पारे भने मार्क वुडले एक विकेट लिए ।

दोस्रो इनिङ्समा वेस्ट इन्डिजका लागि कप्तान क्रेग ब्राथवेटले सर्वाधिक ४७ रन बनाए। त्यस्तै, जेसन होल्डरले ४२ बलमा ३७ रन जोडे । मिकेल लुइसले १७ रन तथा जोसुवा डा.सिल्भाले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

यस अघि ह्यारी ब्रुक र जो रुटको शतकीय इनिङ्सको मद्दतले इंग्ल्यान्डले दोस्रो इनिङ्समा ४२५ रन बनाउँदै अलआउट भएको थियो। रुटले १ सय २२ रन तथा ब्रुकले १ सय ९ रन बनाए।

ओली पोपले ५१ रनको योगदान दिए। पहिलो इनिङ्समा १ सय २१ रन बनाएका उनी प्लेयर अफ द म्याच पनि चुनिए।

इंग्ल्यान्डले पहिलो इनिङ्समा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इन्डिजले ४ सय ५७ रन बनाएको थियो।