काठमाडौं, वैशाख ६

बजारमा अहिले केराको मूल्य दोब्बर बढेको छ ।

गत वर्ष यतिबेला प्रतिदर्जन १५० रूपैयाँमा पाइने केरा अहिले थोकमै २२५ रूपैयाँ पुगेको व्यवसायीहरूले बताएका छन् । खुद्रा बजारमा भने एक दर्जन केरा २५० देखि ३०० रूपैयाँसम्म बिक्री भइरहेको छ ।

व्यवसायीका अनुसार भारतीय केरामा लगाइएको प्रतिबन्धका कारण आपूर्ति घट्दा मूल्य बढेको हो । यद्यपि पछिल्ला महिनाहरूमा अवैध रूपमा केरा भित्रिने क्रम बढे पनि मूल्य नियन्त्रणमा आउन सकेको छैन । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार ‘टीआर–४’ रोगको जोखिमका कारण असोजदेखि केरा आयात अनुमति रोकिएको हो । उक्त रोग फैलिन सक्ने खतरा उच्च भएकाले जैविक सुरक्षालाई ध्यान दिँदै प्रतिबन्ध जारी राखिएको बताइएको छ ।

सरकारी तथ्यांक अनुसार नेपालमा वार्षिक करिब ३ लाख ८२ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ । तर उत्पादन घट्ने मौसममा आयात रोकिँदा बजारमा मूल्य वृद्धि भएको देखिएको छ । हालको अवस्थामा भने उपभोक्ता महँगीको प्रत्यक्ष मारमा परेका छन् ।