आइतबार, २४ असार २०८०
दोलखा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने जिकिर गरेका छन्। हिजो शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्व प्रति जनताको आस्था र विश्वासको उच्च सम्मान व्यक्त गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्ने अभियानमा साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताएका थिए।

पार्टीका नेता कार्यकर्ता सहित आरतीमा पुगेका लिङ्देनले जनताको तागतको बलमा केही वर्ष भित्रै नेपाल पुनः हिन्दुराष्ट्र बन्न सम्भव भएको दाबी गरेका थिए।

उनले मन हिन्दुत्व तर्फ र मत धर्म निरपेक्षतर्फ नगर्न हिन्दु धर्मावलम्बीलाई आग्रह गरे। आज हामी पशुपतिनाथको आरतीमा छौुं, लिङ्देनले भने, आजकै दिन हिन्दुराष्ट्र पुनःस्थापनाको शक्तिशाली संकल्प गरौं, कुनै तागतले हिन्दुराष्ट्र पुनःस्थापना हुनबाट रोक्न सक्ने छैन।