संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गर्दै छन्।
नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागका हुन्।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ।
प्रधानमन्त्री दाहालले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनेछन्। यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी रहनेछन्। यसैगरी उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी रहनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
