शनिबार, २० श्रावण २०८०, दोलखा । सर्लाही जिल्लाका उखु किसानको अझै सकिएको छैन गुनासो, उखु किसानले सरकारबाट पाउनु पर्ने अनुदान र उद्योगीहरुबाट लिनु पर्ने रकम अझ पनि पाउन सकेका छैनन्।

सर्लाही लगायत विभिन्न जिल्लाका किसाले उद्योगी र सरकार दुवै पक्षले आफूहरुलाई भुक्तानी नदिएको बताउँदै आएका छन्।

गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै नपाउँदा उखु किसान निराश बनेका हुन्। गत पुस र माघमा बेचेको उखुको अनुदान रकम हालसम्म पनि हात नपरेको किसानहरुको गुनासो छ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले अनुदान रकम उपलब्ध गराइदिन अर्थ मन्त्रालय सहित अन्य निकायमा बारम्बार ताकेता गरे पनि सुनुवाई नभएको बताएका छन। उखु खेती घट्दै गएको अवस्थामा सरकारले अनुदान बढाएर किसानलाई प्रोत्साहन गर्नु पर्नेमा महिनौंसम्म अनुदान रकम नदिएर किसानलाई निराश बनाएको महासंघको आरोप छ।

सर्लाहीमा केही दिनअघि बसेको सर्वदलीय बैठकले उखु किसानलाई तत्काल अनुदान रकम दिन संघीय सरकारसँग माग गरेको थियो। सर्लाहीमा अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योगमा उखु बेचेका किसानले अझै भुक्तानी पाउन सकेका छैनन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख निर्मल न्यौपानेले उखुको अनुदान रकम कार्यालयलाई प्राप्त नभएकाले भुक्तानी दिन नसकेको जानकारी दिएका थिए।