शुक्रबार, ०१ भदौ २०८०, दोलखा । आंशिक समय मात्र काम गर्ने श्रमिकहरुले प्रतिघण्टा ९५ रुपैयाँ न्युनतम पारिश्रमिक पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै श्रमिकले एक घण्टा काम गरे ९५ रुपैयाँ पाउने भएका हुन्।
मन्त्रालयले यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो।
जसअनुसार वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र छ हजार चार सय ८० महँगी भत्ता रहेको छ।
यस्तै, प्रतिघण्टा ८९, दैनिक छ सय ६८ र आंशिक समय मात्र काम गर्ने श्रमिकको प्रतिघण्टा ९५ पारिश्रमिक निर्धारण गरिएको हो। यस्तै श्रमिकले मासिक १७ हजार तीन सय न्युनतम परिश्रमिक पाउनेगरी पारिश्रमिक निर्धारण गरिएको छ।
उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चय कोष, उपदानलगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ।
