बिहीबार १७ श्रावण २०८१, काठमाडौँ। राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन्। उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने बताएकी हुन्।
‘जिभ्रोको स्वभावै चिप्लिनु हो। बोल्दा कहीँकतै जिभ्रो चिप्लिन पनि सक्छ। त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर ध्यान आकर्षण गर्नुपर्छ’, उनले भनिन्।
उनले थप भनिन्, ‘म कुनै विद्वान होइन। म कुनै पण्डित, विदुषी होइन। जसको कारण यहाँ प्रस्तुत गर्ने कुरामा कहीँ कतै त्रुटिहरू हुन सक्लान्। त्यसलाई हजुरहरुले पक्कै पनि एउटा सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला।’
प्रवचनका क्रममा बुधबार उनले ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि ट्रोल भएकी थिइन्। उनी प्रवचनका लागि बेलायतबाट नेपाल आएको बताइएको छ।
