म समाजका लागि केही गर्ने सपना बोकेको एक सामान्य नागरिक हुँ । कानुन, न्याय र अधिकारका कुरा उठाउन चाहने मेरो बानीले मलाई सामाजिक रूपमा क्रियाशील बनायो ।

समाजमा जस्तो देखेँ, त्यही लेखेँ: समाजको कालो चित्र, शिक्षा प्रणालीको विकृति, राजनीति र पाखण्डको पर्दाफास गरेँ। लेख्दै जाँदा गाली आए, आलोचना भोगें, साथीभाईबाट पराया जस्तै भए । भावनामा बहकिएर एउटा पिताले सन्तानको निश्चित समयको भविष्यलाई समाजसेवाको नाममा बलि चढाए । मलाई थाहा छ अब सरोकारवालाले गाली गर्नेछन, सत्ता, सरकार र यो व्यवस्था चुप बस्नेछ। तर बिचलित मनको यो पीडाले शब्द बनायो, त्यो सत्यले रचना जन्मायो । जे लेखे लेखेर आफैलाई एक्लो बनाएँ, तर आत्मालाई हलुका बनाएँ ।

म विश्वास गर्थें: सस्तो, सर्वसुलभ र समान शिक्षाले पनि देशमा परिवर्तन सम्भव छ । मेरा छोराछोरी निजी विद्यालयमा पढ्दै थिए । हुनसक्छ: त्यहाँ व्यवहारिक ज्ञान खासै थिएन, तर गृहकार्य, कक्षाको अभ्यास र प्रमाणपत्रमा उनीहरू अग्रपंक्तिमा थिए । म सन्तुष्ट थिएँ, तर एकदिन लाग्योप रुपान्तरणको यात्रा : परिवर्तन त आफैंबाट सुरु गर्नुपर्छ ।

मैले नि सोचें, यदि म नै सामुदायिक विद्यालयलाई विश्वास नगरेर निजीमा सन्तान राख्छु भने मैले बोलेका न्याय, समानता, समान अवसरका कुरा खोक्रा हुनेछन । यही सोचले म प्रेरित भएँ र छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरें । सोचें , राज्यको शिक्षाले पनि उस्तै सिकाइ अवसर दिनेछ । अर्थ यो कदापि होइन कि यहाँ शिक्षामा निजि नै उत्कृष्ट छ । तर मेरो त्यो सपना, त्यो आदर्श धरासायी भयो ।

सामुदायिक विद्यालयको अवस्था म कल्पना पनि गर्न नसक्ने गरी कमजोर अनुभुति मिल्यो । ब्यवस्थापन समिति आफ्नै राजनीतिक स्वार्थमा, शिक्षकहरू राजनीति, नेतागिरी र व्यक्तिगत फाइदामा रमाइरहेका थिए । पठनपाठन अस्तव्यस्त थियो । अनुशासन शून्य । मेरा सन्तानलाई सिकाइमा समस्या देखिन थाल्यो । मैले विद्यालयमै अतिरिक्त कक्षा, ट्युसन, जति उपाय थिए अपनाएँ । निशुल्क शिक्षाको नाममा अतिरिक्त शुल्क तिर्नु पर्‍यो । तर पनि नतिजा शून्य । मेरो एक वर्षको पैसा, परिश्रम र सन्तानको मूल्यवान समय सबै खेर गयो ।

त्यो नतिजा हेर्दा मेरो आत्मा जलेको महसुस भयो। मैले निराश र सर्वोश्व गुमाएको होइन तर मलाई लाग्यो : म समाजको लागि सोच्दा सोच्दै आफ्नै सन्तानको भविष्य जलाएँ । एउटा पिताको त्यो पश्चाताप, त्यो पीडा शब्दले व्यक्त गर्न कठिन छ । म भित्रभित्रै पोलिन थालेँ, तर त्यो पोलाइ कसैलाई देखाउन पनि सक्दिन । मलाई लाग्यो: मैले देशको भविष्यको सपना देखेर आफ्नै घरमा अँध्यारो बादल भित्र्याए !

शिक्षक, कर्मचारी, जनप्रतिनिधि सबै राजनीतिको नाममा आफ्नो स्वार्थमा रमाइरहेका छन । आफ्ना बच्चालाई निजी विद्यालयमा लुकाएर सामाजिक सेवाको ढवाङ्ग पिटनेहरुकै सङ्गत परेर मैले पनि भरोसा राखें । भरोसा बिश्वासको आधार थियो शैक्षिक हबको ऐतिहासिक गर्विलो चर्चित नारा तर त्यो भरोसा मेरो जीवनकै ठुलो गल्ती बन्यो । मेरा सन्तान निराश छन । उनीहरूले अब नेपालमा भविष्य देख्दैनन । उनीहरूको सपना अब बिदेश पलायनमा सीमित भएको छ ।

आज म बोल्न सक्दिन, किनकि मेरो आवाजलाई मैले नै गुमाएको छु । म भित्रभित्रै जलेको छु। मलाई लाग्छ : देश बनाउने सपना देख्दा आफ्ना सन्तान गुमाउनु पर्ने रहेछ । त्यो पछुतो, त्यो पीडा जीवनभर नसेलाउने घाउ बनेर बसेको छ ।

´शिक्षामा राजनीति नहोस, शिक्षामा सम्भावना होस,
किनभने शिक्षामा भोलिको राष्ट्र लुकेको हुन्छ । ´यो सिकाइ हो, भोगाइ हो, दोषारोपण कतै कत्ती होइन, तर सरकार, म तिम्रो ओठे-भाषणबाट कत्ति सन्तुष्ट छैन ।