nepse

काठमाडौं, जेठ १३

पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७०० देखि २८०० विन्दुको बीचमै रहेर तलमाथि गरिरहेको छ।

बजारको स्पष्ट दिशा तय हुन नसक्दा लगानीकर्ताहरूमा उत्साह देखिएको छैन, जसका कारण दैनिक कारोबार रकम २ देखि ६ अर्ब रूपैयाँमा खुम्चिएको छ। यद्यपि, यस्तो सुस्त बजारमा पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रै नाफा कमाइरहेका छन्।

गत वैशाख ३० गते २७४० विन्दुमा रहेको नेप्से ३७ अंकले बढेर २७७७ विन्दुमा पुग्दा दुई जलविद्युत कम्पनी—माबिलुङ इनर्जी र बुंगल हाइड्रोको सेयर मूल्यमा १२ देखि २५ प्रतिशतसम्मको वृद्धि देखिएको छ।

माबिलुङ इनर्जी: वित्तीय सूचक कमजोर, प्राविधिक रूपमा अनिश्चय
वैशाख ३० गते ६५४ रूपैयाँमा कारोबार भइरहेको माबिलुङको सेयर मूल्य १२.९९ प्रतिशतले बढेर मंगलबार ७३९ रूपैयाँ पुगेको छ। गत शुक्रबार यो ७६० रूपैयाँसम्म पुगेको थियो भने मंगलबार ६ रूपैयाँले घटेर बन्द भएको छ।

आयोजना र वित्तीय अवस्था: एसियन लाइफ इन्स्योरेन्स मुख्य लगानीकर्ता रहेको यस कम्पनीले ४.९५ मेगावाटको अप्पर पिलुवा खोला ३ आयोजना सञ्चालन गरिरहेको छ। चैतसम्म ५ करोड ७५ लाखको विद्युत बिक्री गरे पनि कम्पनी हाल ८४ लाख रूपैयाँ नोक्सानमा छ। यसको प्रतिसेयर नेटवर्थ १०१ रूपैयाँ छ भने डिस्काउन्टेड पे-ब्याक अवधि १७ वर्षभन्दा धेरै छ।

गत साता बजारमा ‘इन्गल्फिङ बुलिस’ आकृति बनेर मूल्य बढे पनि सोमबार र मंगलबार ‘दोजी’ आकृति बनेका छन्। यसले मूल्यलाई लिएर लगानीकर्ताहरूमा अनिश्चय बढेको संकेत गर्छ।

बुंगल हाइड्रो: सञ्चित नोक्सान उच्च, मूल्यमा उछाल
वैशाख ३० गते ५८२ रूपैयाँ रहेको बुंगल हाइड्रोको सेयर मूल्य २५.७७ प्रतिशतले बढेर ७३२ रूपैयाँ पुगेको छ। गत शुक्रबार यसको मूल्य हालसम्मकै उच्च ८१४ रूपैयाँसम्म पुगेको थियो।

आयोजना र वित्तीय अवस्था: १०.७० मेगावाटको अप्पर सानी गाड आयोजना सञ्चालन गरिरहेको यस कम्पनीले चैतसम्म २३ करोडको विद्युत बिक्री गरेको छ। तर, ११ करोड रूपैयाँ वित्तीय खर्च (ब्याज) भएका कारण कम्पनी ४८ लाख रूपैयाँ खुद नोक्सानमा छ। कम्पनीको सञ्चित नोक्सान १२ करोड ७१ लाख रूपैयाँ रहँदा प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ६८ पैसा मात्र छ। यसको लगानी फिर्ता हुने अवधि (पे-ब्याक पिरियड) २२ वर्षभन्दा बढी छ।

प्राविधिक विश्लेषण: शुक्रबार र सोमबार यसको सेयरमा बियरिस आकृति बनेको थियो, जसले मूल्य घट्ने कमजोर संकेत गरेको थियो। मंगलबार मूल्य घट्दै ‘दोजी’ आकृति बनेकाले यसमा पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन्।

समग्रमा, दुवै कम्पनीको वित्तीय सूचक र प्रतिसेयर आम्दानी ऋणात्मक रहे तापनि अल्पकालीन कारोबार गर्ने लगानीकर्ताका कारण पछिल्लो समय यिनीहरूको सेयर मूल्यमा उतारचढाव आएको देखिन्छ।