
काठमाडौं, असार ३० । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको पूरा सिलिण्डर बजारमा पठाउन ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यास लोड हुने अवस्थामा सुधार आएपछि निगमले यस्तो निर्णय गरेको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आपूर्ति व्यवस्था सहज भइसकेकाले अब ग्यास उद्योगीहरूले सिलिण्डरमा १४ दशमलव २ किलो नै ग्यास भरेर बजारमा पठाउनुपर्नेछ । निगमले साविककै तौल भएको उक्त ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ तोकेको छ ।
यसअघि ग्यासको आपूर्ति र वितरण प्रणालीमा समस्या देखिएपछि निगमले आपूर्ति सहज बनाउन गत फागुन २९ गतेदेखि आधा तौल अर्थात् ७ दशमलव १ किलोग्राम मात्र ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो ।
भारतीय रिफाइनरीहरूबाट ग्यास आयात नियमित भएसँगै झण्डै चार महिनापछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय खारेज गर्दै पुरानै व्यवस्था लागू गरेको हो ।
