मंगलबार, १२ भदौ २०८०, दोलखा । बागमती प्रदेश सरकारले दोलखाका दुईवटा महत्वपूर्ण सडक निर्माणका लागि बोलपत्र आव्हान गरेको छ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालय हेटौंडा र पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोक मार्फत दुई मुख्य सडकको बोलपत्र आव्हान भई प्रक्रिया सुरु गरिएकोे छ। गत महिना मेलुङ गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको नयाँपुल–पवटी–डाँडाखर्क सडक कालोपत्रेका लागि ठेक्का प्रकृयामा गएकोमा छ। हालै मात्र विगु गाउँपालिकास्थित सिंगटी–लादुक–बुलुङ–लामाबगर सडकको बोलपत्र आव्हान गरिएको थियो।

गत मंगलबार सिंगटी–लादुक–बुलुङ–लामाबगर सडकको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले बोलपत्र आव्हान गरेको छ। निर्माण व्यवसायीले एक महिना भित्र ठेक्का बिट गर्न सक्ने छन्।

आगामी असोज ४ गतेसम्म निर्माण कम्पनीले आवेदन दिन सकिने पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर कपिलदेव ठाकुरले जानकारी दिए। उनका अनुसार सडक निर्माणको काम १८ महिना भित्र सम्पन्न गरिसक्नु पर्नेछ।

लादुक–बुलुङ–लामाबगर सडकको कालोपत्रे गर्नु पूर्व स्तरोन्नतिको काम हुनेछ। जसमा सिंगटीबजारको डेढ किलोमिटर पछाडीबाट ७ किलोमिटर सडक खण्डको स्तरउन्नती र कालोपत्रेको काम हुनेछ।

यो योजना अन्तर्गत ग्राभेल, नाली, ग्यावीन वाल, मेसिनरी वालको काम हुनुको साथै आरसीसी ढलान हुने इन्जिनियर ठाकुरले बताए।

बिगु गाउँपालिको सिङ्गटीदेखि लादुक जोड्ने सडक निर्माणका लागि करिब २० करोड बराबरको ठेक्का निकालिएको हो। बागमती प्रदेशका निवर्तमान वन तथा वातावरण मन्त्री एवँ नेकपा माओवादी केन्द्रका नेता विशाल खड्काले प्रदेश सरकारमा निरन्तरको पहलकदमी पछि सडकको स्तरउन्नती सहित कालोपत्रे हुने अवस्था आएको बताएका थिए।