बुधबार, २७ भदौ २०८०, काठमाडौँ। विद्यालय स्तरमा कक्षा १ देखि ५ सम्म प्राथमिक तहको शिक्षक हुनका लागि स्नातक तह उत्तीर्ण हुनु पर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ। सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षक पदमा नियुक्तिका कक्षा एकदेखि पाँचसम्म जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण हुनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यस्तै कक्षा ६ देखि ८ कक्षाका पढाउनका लागि सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्ने, अध्यापन अनुमतिपत्र प्राप्त गरेको र एक्काइस वर्ष उमेर पूरा भई पैँतिस वर्ष पूरा नभएको व्यक्ति हुनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयकमा भनिएको छ–शिक्षकको योग्यता शैक्षिक गुणस्तरसँग जोडिएको र सक्षम शिक्षक आवश्यक भएकोले न्यूनतम स्नातक योग्यता भएको व्यक्ति शिक्षक हुने व्यवस्था गरिएको छ। त्यस्तै उमेरको हकमा अधिकतम उमेर महिलाको लागि चालिस, अपाङ्गमात्र प्रतिस्पर्धा गर्नेको हकमा चालिस तथा माध्यमिक द्वितीय श्रेणीको खुला तर्फको लागि पैँतालीस वर्षसम्म उम्मेदवार हुन सक्ने व्यवस्था यस दफामा गरिएको छ।
सो प्रावधानबाट योग्य र क्षमतावान् व्यक्ति शिक्षक हुन सक्ने, विशेष शिक्षा तर्फ विशेष व्यवस्था गर्नु पर्ने र समय समयमा यसमा परिमार्जन समेत गर्नु पर्ने भएकोले नियमावलीमा व्यवस्था भए बमोजिम हुने गरी व्यवस्था गरिएको विधेयकमा उल्लेख छ।