मङ्गलबार, ०२ माघ २०८०, दोलखा। दोलखाको लामावगरस्थित नासा हाइड्रोको सडक निर्माणको क्रममा सुख्खा पहिरोमा पुरिएर गम्भीर घाइते भएका दुई जना कामदारको अझै उद्धार हुन सकेको छैन।
पहिरो खसेर मजदुर घाइते भएको ६ घण्टासम्म पनि उनीहरुको उद्धार हुन नसकेको हो। पहिरोमा पुरिएर गम्भीर घाइते भएका दोलखाको बिगु गाउँपालिका–१ का २८ वर्षीय दिलकुमार तामाङ र ५८ वर्षीय रसमान तामाङको उद्धार हुन नसकेको हो। टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेका घाइतेहरुलाई यो समाचार तयार पार्दासम्म अस्पताल पुर्याउन सकिएको छैन भने घटनास्थलमा सुरक्षाकर्मी समेत पुग्न सकेका छैनन्।
घाइतेको उद्धार गरी समयमै उपचार हुन नसक्दा उनीहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ भने पहिरोमा पुरीएर मृत्यु भएका दोलखाको बिगु गाउँपालिका–१ का २२ वर्षीय युवक कुसुङ तामाङको शव समेत घटनास्थलवाट निकाल्न सकिएको छैन। घटना घटे लगत्तै खटिएको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सडक र बाटो अवरुद्ध भएका कारण लामावगरवाट अघि बढ्न सकेको छैन। निर्माणाधिन लामावगर–लप्चि सडकको देउराली सडक खण्डमा पनि पहिरो खसेका कारण सुरक्षाकर्मीको टोली अघि बढ्न सकेको हो। लामावगरवाट देउराली हुँदै घटनास्थल हुरहुरे भन्ने स्थानमा पुग्न अन्य वैकल्पिक बाटो छैन।
घाइतेहरुलाई हेलिकोप्टर मार्फत उद्धारको प्रयास गरिए पनि खराव मौसमका कारण हेलिकोप्टर नआउँदा समस्या भएको हो। घाइतेको उद्धारका लागि दिउँसो श्री एयरको हेलिकोप्टरलाई आग्रह गरिए पनि आउन नसकेको र वेलुकी नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरलाई अनुरोध गरिए पनि नआएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए। घाइतेहरुलाई घटनास्थलवाट उद्धार गरी हाइड्रोका कामदारको जङ्गलमा रहेको अस्थायी क्याम्पमा राखिएको र भोली विहान हेलिकोप्टर मार्फत उद्धारको तयारी भएको प्र.जि.अ पोखरेलले बताए।
सुख्खा पहिरो खसेको लामावगरको हुरहुरे र आसपासको क्षेत्रमा मानव वस्ति र टेलिफोनको नेटवर्क समेत छैन। नासा हाइड्रोको आन्तरिक सूचना संयन्त्रवाट प्राप्त जानकारी अनुसार घाइतेको शरीरवाट रगत बग्ने क्रम केही कमी भए पनि उनीहरुको अवस्था भने सामान्य छैन। घटनास्थल चीनको तिव्वतसँगको सिमा नजिकको दुर्गम स्थान हो। जुन लामावगरवाट करिव १० किलोमिटर उत्तरमा पर्दछ। चिसो र खराव मौसमका कारण बिरामीलाई झनै समस्या भएको बताइएको छ।
नासा हाइड्रोमा काम गर्ने कामदारले त्रिपाल टाँगेर जँगलमा बनाएको टहरोमा घाइतेलाई राखिएको छ। सडक निर्माणमा खटिएका मजदुरहरुले घटनास्थलवाट घाइतेलाई उद्धार गरेर टहरोमा राखेका हुन्।