
काठमाडौं, असार १०
मुस्ताङको मार्फामा सञ्चालित बहुचर्चित लक्जरियस रिसोर्ट ‘शिन्तामणी मुस्ताङ’ को मातृ कम्पनी मुस्ताङ माउन्टेन होमले चालु आर्थिक वर्षको ९ महिनामा १३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ।
यति ग्रुप अफ कम्पनिज अन्तर्गतको यस कम्पनीले गत आवमा १५ करोड, सन् २०२४ मा ७ करोड ६० लाख र सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २०१४ मा स्थापना भई २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको यस कम्पनीले सन् २०२२ को मार्चबाट व्यावसायिक कारोबार सुरु गरेको हो।
कुल १ अर्ब १६ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण भएको यस रिसोर्टमा २९ वटा सुईट रुमहरू रहेका छन्। अन्तर्राष्ट्रिय होटल चेनसँगको व्यवस्थापन सम्झौतापछि सन् २०२३ को अन्त्यबाट यो रिसोर्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।
लगानीकर्ताहरूले थप २० करोड रुपैयाँ इक्विटी लगानी गरेसँगै कम्पनीको दीर्घकालीन ऋण अघिल्लो वर्षको ९० करोड ९० लाखबाट घटेर ७५ करोड २० लाख रुपैयाँमा झरेको छ। ऋण घट्दा कम्पनीको वित्तीय जोखिम प्रोफाइलमा सुधार आएको छ भने ब्याज कभरेज अनुपात पनि अघिल्लो वर्षको ०.११ गुणाबाट सुधार भई ०.७५ गुणा पुगेको छ। लाक्पा सोनाम शेर्पा अध्यक्ष रहेको यस कम्पनीले हालै ७२ करोड ७ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ।
अमेरिकी आर्किटेक्ट कम्पनी ‘बेन्सले’ को डिजाइनमा बनेको शिन्तामणी मुस्ताङ देशकै सबैभन्दा महँगो रिसोर्टहरूमध्ये एक हो।
यहाँ बस्नका लागि न्यूनतम ५ दिनको प्याकेज अनिवार्य गरिएको छ भने प्रतिरात न्यूनतम शुल्क १७ सय अमेरिकी डलर (करिब २ लाख ५८ हजार रुपैयाँ) तोकिएको छ। रिसोर्टले पाहुनाहरूका लागि हर्स राइडिङ, साइक्लिङ, रक क्लाइम्बिङ, आर्चरी, हाइकिङ र ट्रेकिङ जस्ता विशेष सुविधाहरू प्रदान गर्दै आएको छ।
