आइतबार, ०७ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चीनमा भव्य स्वागत गरिएको थियो।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर गएराती न्युयोर्कबाट चीनतर्फ गएका दहाललाई भव्य स्वागत गरिएको हो। प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट हिजो बिहान औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन पुगेका थिए। हाङझाव विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चीनका खेलकुद, सामान्य प्रशासन मन्त्री तथा ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले स्वागत गरे। हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनु अघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङ बीच भेटवार्ता भएको छ।
हिजो मध्याह्न १२ बजे संक्षिप्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङले एउटै रिसोर्टमा लञ्च गर्ने र अपराह्न ४ बजे द्विपक्षीय भेटवार्ताको छ। त्यसपछि बेलुकी ८ बजे हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुने कार्यक्रम थियो।
प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाने छन्। त्यहाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू रहेका छन्।
