आइतबार, ०७ असोज २०८०, दोलखा। पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ।
फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो।
प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले शनिबार महानगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन्। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद खोलाको खोला नापजाँच सम्पन्न गरी प्रतिवेदन तयार गरिएको समितिका संयोजक पौडेलले बताए।
प्राविधिक समितिले एक महिना लगाएर गत साउन ३ देखि भदौ ३ गतेसम्म खोलाको नापजाँच गरेको थियो। फिर्केखोलाको सिमाङ्कन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनसहित ४० परिचालित भएका थिए। संयोजक पौडेलका अनुसार खोलाघर माथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको पाइएको छ।
फिर्केखोलानै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको छ। खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ। साविक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्केखोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ।
यो खोला कम्तीमा तीन दशमलव ३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ। खोलाको उचाइ चारदेखि नौ मिटरसम्म गहिरो रहेको पाइएको छ ।
फिर्केखोलाको प्राविधिक नापजाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सीमास्तम्भ गाडिएका छन्। प्रतिवेदन अनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन्। यसको नापजाँचकार्य ३२ दिनसम्म दुई सय ८८ घण्टामा सम्पन्न गरिएको हो।
प्रतिवेदनमा फिर्के तथा बुलौदीखोला हेँदै फेवातालसम्म पुगेका प्लाष्टिकजन्य फोहर तथा सिसा र विषाक्त रसायनका कारण प्राणी जीवन सङ्कटमा पर्नुका साथै मानव जीवनमा समेत घातक प्रकृतिका जटिल रोगहरूको जोखिम बढ्ने गरी वातावरणीय प्रदूषण भइरहेको प्रतिवेदनमा उल्लेख छ।
