हो त्यही हो मेरो देश,
जहाँ आफ्नै देशका नागरिकलाई शरणार्थाी बनाइन्छ
अपराध छोप्न सपुतको कागजात लुकाइन्छ
देशको हितमा काम गर्नेलाई खुट्टा तानिन्छ
करोडौँको भ्रष्टाचार गरेर सिसि टिभि फुटेज लुकाइन्छ..

हो त्यही हो मेरो देश,
जहाँ हत्या, हिंसा र बलात्कारजस्ता घटना भइरहँदा
नेपाल आमा धुरू धुरू रोइरहँदा
बलात्कारीको सजाय केबल धरौटीमा रिहा हुन्छ..

खै के आशा गर्नु,
कानुन त बन्छ तर न्याय कसैले पाउँदैनन्
पीडितलाई सुनिदिने र बुझिदिने कोही हुँदैनन्..

हो त्यही हो मेरो देश,
जब सवाल देशको सार्वभौमिकता र स्वाधिनताको आउँछ
देशको हितको लागि आवाज उठाउँदा
देशका न्यायलय र अदालतले कानुन विपरीत ठहराउँछ
जहाँ धर्ती आमामाथि अत्याचार भइरहँदा
नेताहरूलाई कुर्सि र सत्ताको मात्र चिन्ता भइरहन्छ…

हो त्यही हो मेरो देश,
छिमेकीले सीमा मिचिरहँदा
सम्पत्ति र भूभागलाई बेचिरहँदा
जनताले आवाज उठाइरहँदा तर माननीय चुपचाप कानमा तेल हालेर बसिरहन्छन्…

हो त्यहि हो मेरो देश,
जहाँ हरेक वर्ष लाखौं युवाहरू काम खोज्दै विदेशिन्छन्
पसिनाको मूल्य चुकाउँदै मुलुकलाई रेमिटेन्स पठाउँछन्
तर विडम्बना एकदिन तिनै युवा बाकसमा फर्किन्छन्
सपनाका खातिर ज्यानको बलिदान दिइरहेका छन्…

भाषण मात्र सधै युवाकै शिर्षकमा बनाउने
जुन सरकार आएपनि युवा लक्षित कार्यक्रम नछुट्याउने
जति संघ संस्था आएपनि तिनै युवालाई लुट्ने र ठग्ने
खोइ किन हो, युवा सुरक्षाको लागि केहि कदम नचाल्ने..

सधैं यहि पहिचान कति बोकेर हिड्ने
भो बरू देशको पहिचानबारे कोही केही नसोध
म यही देशको नागरिक भएर पनि अनागरिक ठहरिएको
शब्दविहिन युवा हुँ….