
आमा,
फाटेका ति चोलीका फेर सियौ कि सियनौ
धुस्रो र फुस्रो कपाल धोयौ को धोएनौ।
मेरा लागि सङ्घर्ष गर्दा फुटेका ती हातहरू
मेरै चिन्तामा अनिदो बसेका ति रातहरू
सम्झिरहेछु, आज पनि त्यी आँखाहरू सुतेकी सुतेनन्।
आमा, मैले पठाएको मखमलको चोली मन पर्यो कि परेन
मेरै लागि चिन्ता गर्ने तिम्रो बानी गए कि गएन।
टाढाबाट तिमीलाई सम्झिरहेछु
पक्कै तिमीलाई नि मेरो सम्झाना आउँदो हो
फोनमै भएपनि भनिदेउ मेरी आमा
तिम्रा आँखाले मेरो उपस्थिती खोजेकी खोजेनन्।
तिम्रै लागि केहि गर्न परदेशिएँ
तिमी बिना यो शहर आज शुन्य लागिरहेछ
मन तिमीसँगै ज्यान यता छटपटाइरहेछ
रमाइलो र रङ्गिन शहर पनि फिका लागिरहेछ।
आमा, म बिना बाच्न सिक्यौँ कि सिकेनौँ
मलाई भुलाउने बाटो खोज्यौ कि खोजेनौ।
घुमिफिरी आउने त्यी वर्ष दिनका चाडहरूमा
पाहुँनाको आगमन र अनेक खुसीका बहारहरूमा
मेरी आमा तिमीलाई मेरो याद आउछ कि आउँदैन
म जस्तै अरू देख्दा मेरो झल्को लाउँछ कि लाउँदैन।
आमा,
सम्झिरहेछु तिम्रो फाटेको चोली
त्यो चोली फेर्न मन छ
तिम्रो मुहारमा खुसी हेर्न मन छ।
जब भोकको महसुस हुन्छ
तिम्रै हातले बनाएको रोटी र तरकारी सम्झन्छु
तिमीले फकाएर खुवाएको सम्झन्छु
सम्झनामै टोलाइरहन्छु
अनायसै तिमलाई बोलाइरहन्छु।
आमा, म बिना हास्न सिक्यौ कि सिकेनौ
एक्लै पकाएर खान सिक्यौ कि सिकेनौ
आज पनि सम्झिरहेछु
फाटेको चोली फेरेउ कि फेरेनौ अनि रातभरी सुतौ कि सुतेनौ।