खाडीमा काम गर्दा गर्दै घरको याद आयो र त रोएँ
साहुको कचकच र त्यो तातो घाममा पसिना बगाउँदा
अचानक आमाको याद आयो र त रोएँ।
वर्षौदेखी घरको छानो फेर्ने मेरो रहर
वर्षाले घर माथिको कान्ला खस्यो रे
यसपाली त पहिरोले घर पुर्यो रे
आमाको फाटेको चोली फेर्ने मेरो रहर
घरको जिम्मेवारिले छुटायो र त रोएँ
एयरपोर्टतिर प्रवेश गर्दै गर्दा झरेको तिम्रो आशु
फेरी सम्झिए र त रोएँ।
संगै जिउने भनेर खाएको कसम
पुरा गर्न सकिन मेरी प्यारी त्यसैले त रोएँ
म बिनाको तिम्रो अन्धकार संसार
आफैँले कल्पना गर्दै आज खाडीमा रोएँ।
बालबच्चा बा खै भनेर मलाई नै खोज्दा हुन्
काँधमा राखेर तातेताते गर्दै डुलाएका ती पलहरू सम्झिए र त रोएँ
म फर्कने बाटो कुर्दै होलिन् आमा
छुट्टी माग्दा साहुको गाली सम्झिएँ र त रोएँ।
परिवारको सुख खोज्दै परदेशिएँ
दुख हटाउन सकिन र त रोएँ
त्यो चुहिएको छानो चर्किएको घरको भित्ता
टाल्न सकिन र त रोएँ।
के कमी थियो र मेरो मायामा सानु
अर्कै सँग सल्कियौ र त रोएँ
तिम्रै लागि भनेर परदेशिएको म
उता तिमी अर्कै सँग गयौ र त रोएँ।
मनलाई कठोर बनाउन खोज्दा खोज्दै
अनेक पिडाहरूले मुस्कुराउन दिएनन् र त रोएँ
घरको अवस्था सम्झिएर त रोएँ
मलाई छोडि तिमी अन्तै गएदेखि
बालबच्चा र आमाको बिजोग सम्झिएर रोएँ।
